Hello Samaj

Hello Samaj

Share

06/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र हुर्किन थालेको ‘योगदानको हिसाब-किताब खोज्ने’ र ‘पदका लागि मरिहत्ते गर्ने’ प्रवृत्तिको कडा आलोचना गरेका छन्। पहिलो महाधिवेशनको प्रक्रिया अन्तर्गत जेठ २३ र २४ गते देशभर जिल्ला अधिवेशनहरू भइरहेको सन्दर्भमा सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।

वडा र पालिका तहका अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भइसकेको जानकारी दिँदै उनले महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर भएको उल्लेख गरेका छन्।
पार्टीभित्र देखिएका केही नकारात्मक प्रवृत्तितर्फ संकेत गर्दै लामिछानेले भनेका छन्, “स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब-किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन। चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ।”

उनले भविष्यमा संसदीय अवसर पाउने आशयले पार्टीको नेतृत्व हत्याउन खोज्नेहरूलाई पनि सचेत गराएका छन्। “पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि कहिलेकाहीँ देखिएको छ। यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो,” उनले भनेका छन्।

सभापति लामिछानेले रास्वपालाई वैकल्पिक शक्तिबाट मुलुककै नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बनाउने लक्ष्य रहेको सुनाउँदै संगठन विस्तार हुँदा पुरानो पुस्ताले 'म रहन्न कि' भन्ने संकीर्ण चिन्ता त्याग्नुपर्नेमा जोड दिएका छन्। उनले पार्टी अब 'म' बाट 'हामी' मा रूपान्तरण हुनुपर्ने बताएका छन्।

पार्टीको उन्नत लोकतान्त्रिक छवि निर्माणका लागि शैली र व्यवहार पनि परिष्कृत हुनुपर्ने भन्दै लामिछानेले भनेका छन्, “पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न सक्दैनौं। विचार मात्र होइन, हाम्रो शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्छ।”

सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिबाट सक्षम, इमानदार र जनमैत्री नेतृत्व चयन गर्न उनले देशभरका पार्टी सदस्यहरूलाई आह्वान गरेका छन्। रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन प्रक्रियालाई सभ्य र सन्देशमूलक बनाउन उनले शुभकामना समेत व्यक्त गरेका छन्।

06/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठनात्मक नीति र केन्द्रीय समितिको निर्णय बमोजिम देशभर एकैसाथ जिल्ला अधिवेशनहरू सुरु भएका छन्। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार जेठ २३ र २४ गते देशभरका ६६ जिल्लामा र विशेष परिस्थितिका कारण बारामा जेठ २६ गते गरी कुल ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ।

कार्यतालिका अनुसार आज जेठ २३ गते देशभरका ३७ जिल्लाहरूको अधिवेशन एकैसाथ सम्पन्न हुँदैछ। जसमा कोशी प्रदेशका ८, मधेशका २, बागमतीका ९, गण्डकीका ५, लुम्बिनीका ८, कर्णालीका २ र सुदूरपश्चिम प्रदेशका ३ जिल्लाहरू रहेका छन्। यसैगरी भोलि जेठ २४ गते बाँकी २९ जिल्लाहरूको अधिवेशन सम्पन्न हुनेछ। जसमा कोशीका ४, मधेशका ४, बागमतीका २, गण्डकीका ४, लुम्बिनीका ३, कर्णालीका ६ र सुदूरपश्चिमका ६ जिल्लाहरू समावेश छन्।

पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन अगावै मुख्य संगठन रहेका अधिकांश जिल्लाहरूको अधिवेशन सम्पन्न गर्ने रास्वपाको रणनीति रहेको छ। बाँकी रहेका १० जिल्लाहरूको अधिवेशन भने राष्ट्रिय महाधिवेशन पश्चात् क्रमशः गरिने महामन्त्री बुर्लाकोटीले जानकारी दिए। जिल्ला अधिवेशनहरू सकिएलगत्तै जेठ २६ गतेदेखि सातै प्रदेशको अधिवेशन सुरु हुने र पहिलो प्रदेश अधिवेशन बागमती प्रदेशबाट प्रारम्भ हुने कार्यतालिका सार्वजनिक गरिएको छ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu
44600