Pradip Bhandari

Pradip Bhandari

Share

24/05/2025

​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​

10/02/2025

एकोनत्रिंंशोऽध्याय
श्री गणेशाय नम ; श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
चन्द्रावतीले श्रद्धा भक्तिपूर्वक शाली नदीमा बगाई दिएका तीन आठ रोटी मध्ये चार रोटी कुनै एउटी नागिनीले पाईन् र ” यस्तो अपूर्व र सुगन्धित रोटी कसले कहाँबाट बगाएछन् । मेरा स्वामी घरबाट बाहिर गएको बाह्रवर्ष भैसके, कता जानु भयो कता ? कुनै खबर छैन । वहाँलाई पहिले नखुवाई यस्ता सुन्दर र अपूर्व रोटी म एक्लै कसरी आऊँ ? बरु खोजी गर्न जान्छु । भेट भएमा दुई–दुई रोटी बाँडेर खाउँला ” भन्ने सम्झिएर शाली नदीका किनारै किनार जान लागिन् । ती आठ रोटी मध्ये चार रोटी चाँही उता नागले पनि प्राप्त गरे र “ओ हो ! कति राम्रा र मीठो बास्ना चल्ने रोटी पाएँ, यी रोटी यहाँ कसले बगाएथे र आईपुगे । मैले घर छोडेको पनि बाह्र वर्ष भयो । मेरी पत्नीलाई नखुवाई यी रोटी एक्लै कसरी खाऊँ ! अब झट्टै घर पुग्छु र दुई–दुई वटा बाँडी खाउँला भनी आफू रहेको गण्डकी नदीका किनारै किनार भई नाग पनि घरतिर लागे । यसरी दुवैतिर बाट आउँदा–आउँदै शाली नदी र गण्डकीका संगममा श्री स्वस्थानी परमेश्वरीका कृपाले ती दुवै नाग–नागिनीको भेट भयो ।

अति हर्ष मान्दै नागिनीले — “हे पतिदेव ! यत्तिका वर्षसम्म मलाई घरमा एक्लै छाडी यति साह्रो निष्ठूरी भएर कहाँ गइबक्सिएको थियो ? मेरा भाग्यले आज मात्र हजूरको दर्शन पाउन सकें । कसैले बगाएर पठाएका यी अपूर्व चार रोटी मैलै पाएकी छु । हजुरलाई नखुवाई एक्लै खान मन लागेन र हजूरको खोजी गर्दै घर छोडेर आएँ । दैव संयोगले भेट भयो । लो खाइबक्सियोस् भनी चार रोटीमा दुई रोटी पतिलाई दिँदी भइन् । ती रोटी देखेर नागले पनि – “हे प्रिये ! तिमीले जस्तै मैले पनि चार रोटी पाएको छु, लौ खाऊँ ” भनी आफूले पाएका चार रोटीमा दुई रोटी नागिनीलाई दिए ।

यसरी ती दुवै नाग दम्पत्तिले चार–चार रोटी खाई सकेपछि नागले नागिनीसित भने —“ हे अर्धाङ्गिनी ! बाह्र वर्षसम्म हाम्रो भेट नहुनु र आज यिनै रोटीका कारणले भेट हुनुले हामीले खाएका रोटीमा कुनै ठूलो महिमा लुकेको हुनुपर्छ । जसद्वारा यी आठ रोटी बगाएर पठाइएको हो, भोलिकै दिनमा तिनका सबै इच्छाहरु सिद्धि होउन् । लक्ष्मीले दृष्टि दिउन् अनि रोग, शोक हटेर जाउन् । शरीरभित्र र बाहिर रहेका सबै शत्रु नाश होउन् ” भन्ने धेरै आशीर्वाद पनि दिए । यी कुरा सुनी नागिनीले पनि भनिन् —“हे प्राणनाथ ! म पनि उहाँलाई आशीर्वाद दिन्छु । आदित्यादि नवग्रहले उहाँका सम्पूर्ण पीडा शान्त गरुन । भूत, प्रेत, पिचाश, राक्षस , आदिले पनि कुनै पीडा गर्न नसकुन् । राज्यलक्ष्मी उहाँका वशमा रहुन् । हामी पति–पत्नी झैं विछोड हुन गएका भए चाडै शहाँहरुको पनि भेट होस् । ” यी आशीर्वाद दिएर दुवै नाग –नागिनी आफ्ना घर गए ।

हे अगस्त्य मुनि ! उता लावण्य देशका वासीहरु शाली नदीमा स्नान गर्न दिनहुँ जान्थे । एक दिन त अत्यन्त दिव्यरुपले धप्–धप् बलेझैं देखिने, जिउ डाल मिलेकी, वस्त्र र आभूषणले शोभायमान भएकी एक्लै बसिरहेकी चन्द्रवतीलाई नदी किनारमा देखेर ती स्नानार्थीहरुले सोधे — हे सुन्दरी ! तिमी देवकन्या, नागकन्या, विद्याधर कन्या, किन्नर कन्या मध्येकी को हौ ? कतै तिमी स्वर्गकी अप्सराहरु उर्वशी , रम्भा, तिलोत्तमा मध्येकी एउटी त होइनौ ? यहाँ यसरी एक्लै किन बसीरहेकी छौ ?”

ती स्नानर्थीहरुका कुरा सुनी चन्द्रावतीले भनिन् —“हे लोक हो ! तपाईहरुले सोध्नुभएको मध्ये म कोही पनि होइन । म ता वरुणपुरका अग्नि स्वामी ब्राम्हाणकी पुत्री गोमा ब्राम्हाणीका पुत्र नवराजकी स्त्री हुँ । मेरा नाउँ चन्द्रावती हो । स्वर्गका अप्सराहरु यहाँ आई यी शाली नदीका तीरमा श्री स्वस्थानी परमेश्वरीका पूजा गरेका थिए र मैले पनि उनीहरुकै उपदेशद्वारा उनकै संसर्गमा श्री स्वस्थानी परमेश्वरीको पूजा गरी रातभर जाग्राम बसी अहिले स्नान गर्न निस्किएकी हुँ” । ती अनुपम सुन्दरी स्त्रीका कुरा सुनी लोकले आश्चर्य मानी भने — “ हे देवी ! गोमा पुत्र नवराज ता हाम्रा राज भै बक्सिएको छ ।” अनि “वहाँ गएर छिटो विन्ति गरौं” भन्ने सल्लाह गरी राजासमक्ष पुगी शाली नदीका तीरमा रहेकी दिव्यरुपा नारी र उनले भनेका कुरा जाहेर गर्दा भए ।

तिनीहरुका कुरा सुनी राजा नवराजले चन्द्रावतीलाई सम्झँदै भेटेर आउने प्रजाहरुलाई भने —“ हे पियारी प्रजाहरु हो ! तिमीहरुले साँचो कुरा गर्दैछौं । ती चन्द्रावती नाम गरेकी मेरी पत्नी हुन् । राज्यको काजले गर्दा बाहिर राखेको थिएँ । अब तिमीहरुले गई लिएर आओ ।” यति भनेपछि मन्त्रीलाई डाकेर अह्राए —“ हे मन्त्री ! मेरी धर्मपत्नी चन्द्रावती शाली नदीका तीरमा आई बसेकी रहिछन् । तिमीले नाना वस्त्र अलङ्कार र डोली सहित प्रजाहरुका फौज साथ गरी उनलाई लिन त्यहाँ जाऊ, म पनि केही परसम्म आउँला ।” राजाको हुकूम पाएपछि शहरमा झ्याली पिटाई, बाजा–गाजा र फौज अघि–अघि, प्रजाहरु पछि–पछि लगाई चन्द्रावतीलाई लिन ठूलो लावा लश्करका साथ राज्यमन्त्री शाली नदीका किनारामा पुगे ।

चन्द्रावतीका छेउमा पुगी प्रणाम गरी उनीहरुले ” हे महारानी ! नवराज राजाले हजूरलाई ल्याउन हुकुम बक्सिएकोले हामी आएका हौं । यी वस्त्र र अलंकार पहिरिएर डोलीमा चढिबक्सियोस्” भने चन्द्रावतीले पनि — “हे स्वस्थानी परमेश्वरी ! मेरा स्वामी नवराजसित चाँडै भेट होस् भनी हिजो ब्रत गरेथें, आज प्रत्यक्ष दर्शन पाउने भएँ, भनी गद्गद् मनले श्री स्वस्थानी परमेश्वरीलाई बार–बार प्रणाम गर्दै प्रार्थना पनि गर्न लागिन् — “हे करुणमयी ! हे लोकेश्वरी ! हे परब्रम्हस्वरुपिणी ! हे जगन्माता ! हे श्री स्वस्थानी परमात्मा ! दुःखका सागरमा डुबिरहेकी यो पापिनीलाई उद्धार गरी लावण्य देशकी रानी बनाई दिनुभयो । म अनाथमाथि हजूरको सुदृष्टि पर्न गयो । हे सर्वशक्ति सम्पन्न परमेश्वरी ! मेरो कोटी–कोटी नमस्कार छ,” भनी मनमा ठूलो आनन्द मानी वस्त्र र अलंकार पहिरी डोलीभित्र बसी अघि–अघि फौज र पछि –पछि प्रजाहरु लगाई नानाथरीका बाजा–गाजाका साथ चन्द्रावती लावण्य देशतिर गइन् ।

चन्द्रावती रानीलाई लिन गएको फौज र प्रजाहरुको लाव लश्कर शहरको छेउमा आई पुग्न लागेको खबर सुनी त्यहाँका नर–नारीहरुले हेर्न भनी हतारहतार गरी बाहिर निस्कँदा कसैले पस्किएको खाना नखाई दगुरे, कोही खाँदा–खाँदै न चुठिकन कुदे, कोही छोराछोरी रुवाउँदै छोडेर र कोही छोराछोरी बोकेर दैलाबाट नै हाम फाल्दै दौडे । नवराज राजाले पनि आफ्नी धर्मपत्नी चन्द्रावती आई पुग्नै लागेको खबर सुनी केही वरसम्म आई उनलाई नाना मङ्गल–यात्रा गरी हर्ष बढाइँ गर्दै दरबार भित्र लग्दा भए ।
आगौं कथा अर्को अध्यायमा सुनाउँला ।
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वरी व्रतकथायां
श्री चन्द्रावती स्वगृहप्रवेशोनाम एकोनत्रिंशोऽध्याय : ।। २९ ।।

श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!

09/02/2025

अष्टाविंंशोऽध्याय
श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
तहाँ उप्रान्त कपिल ब्राम्हाणहरुले त्यो भोज्य पदार्थ लिई लडिरहेकी चन्द्रावती भएका ठाउँमा पुगेर — “हे पापिनी ! तँ साँच्चिनै पापिनी रहिछस् । तैंले गर्दा हामीलाई भारी शर्मिन्दा हुनुपर्याे” भनी राजभण्डार नै रित्तिन गएको समेत कुरा बताई त्यो खाने कुरा चन्द्रावतीका सामु राखिदिए । चन्द्रावती पनि भोकले अत्तालिई रहेको हुनाले त्यो खाने कुरा पाउनासाथ खानलाई ठीक परिन् । यो देखी ती ब्राम्हाणहरुले — “हे पापिनी ! यस्ता भारी विपद्मा पुगिसक्ता पनि धर्मको अपमान भएको तँलाई थाहा रहेनछ, मुख धोएर त खा ! तेरो यस्तो गति देखेर तँमाथि हाम्रो करुणा उठ्यो । अब तँलाई केही उपदेश दिएर जाने भयौ, ध्यान दिएर सुन् । निरञ्जन, निराकार श्री स्वस्थानी परमेश्वरीको निष्ठापूर्वक व्रत, उपासना र पूजा गरेमा सो व्रतका प्रभावले तेरो उद्धार हुनसक्ला, जुन व्रत गर्नाले ब्रम्हहत्या जस्ता घोर पाप पनि नाश हुन्छन्”। यति उपदेश गरी ती ब्राम्हाणहरु त्यहाँबाट हिडे ।

त्यसपछि चन्द्रावती पनि बडो कष्टले घस्रँदै मुख धुन भनी शाली नदीमा पुगिन् तर उनी पुग्दा नपुग्दै नदीको पानी सबै सुक्यो । यो देखेर नाना तरहका विलाप गर्दै र रुँदै अघिकै ठाउँमा फर्किएर आईन् र त्यो खाने कुरा हातमा लिई खान खोज्दा खरानी भयो । खरानी नै भए पनि खाउँ भन्दा ठूलो हावा चली उडाई लग्यो । त्यसपछि ती चन्द्रावती रुख ढलेझैं भूइँमा पछारिई मूर्छा परिन् । उनी मूर्छापरिसकेपछि नदीमा फेरि पानी भरियो र फे्ि उनी नदी किनारमा पछारिइन् अनि शाली नदी पहिले झैं बग्न थालिन् । चन्द्रावती भने मूर्छा अवस्थामा नै पाँच वर्षसम्म नदीका किनारामा लडिरहिन् । एक दिन उनलाई अकस्मात् चेष्टा हुन गयो र ‘अहो ! मबाट कति ठूलो अपराध हुन गएछ’ भनी मनमा नाना विषाद गरी पश्चात्तापपूर्वक रुन लागिन् । दुःख र कष्टले अनेक यातना सहन गरेकी चन्द्रावतीका पाप काटिँदै गएका थिए ।

उनका भाग्यले श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न भनी स्वर्गबाट अप्सराहरु त्यहाँ आए । त्यो दिन पौषशुक्ल चर्तुशी थियो र ती अप्सराहरुले आफ्ना हात गोडाका नङ काटी शुद्ध भए । भोलिपल्ट पूर्णिमाको दिन शाली नदीका जलमा स्नान गरी, सुर्यलाई अध्र्य दिई, बालुवाको शिवलिङ्ग बनाएर श्री महादेवको पूजा गर्न लागे । यो देखी अप्सराहरुका सामु गएर चन्द्रावतीले सोधिन् —“तपाईहरु देवता वा मनुष्य को हुनुहन्छ ? यहाँ के का निम्ति आउनु भएको हो ? मेरो यो अवस्थाले गर्दा आफ्नो पाप भोगीरहेकी छु , मेरो उद्धार गरिदिनुहोस् । अप्सराहरुले यी कुरा सुनी “आफूहरु इन्द्रका अप्सरा भएका र पवित्र पर्व पौषशुक्ल पूर्णिमादेखि श्री स्वस्थानी परमेश्वरीको व्रतको महिमा र श्री महादेवको पूजा गर्न शाली नदीमा आएर स्नान, सूर्यलाई अध्र्य गरी व्रतको आरम्भ गरेको यथार्थ कुरा बताए ।”

तिम्रो अवस्था बुझेर हामीमा करुणा भयो, तिमी पनि यो व्रत गर जसबाट तिम्रो उद्धार होला ” भन्ने उपदेश र दयाले भरिएका अप्सराहरुका वचन सुनेर चन्द्रावतीका मनमा आफूद्वारा गरिएको श्री स्वस्थानी परमेश्वरीको अनादरलाई सम्झना भयो । डोलेहरुले श्रद्धापूर्वक ल्याएर दिएको प्रसादलाई गोडाले कुल्चिएर अपमान गरेका पापले नै आज आफूले असह्य कष्ट भोग्दै गरेको कुरा चन्द्रावतीलाई छर्लङ्ग भयो । कपिल ब्राम्हाण र यी अप्सराहरुले समेत दिएका उपदेश नै मेरो उद्धारका कारण रहेछन् । श्री स्वस्थानी परमेश्वरीको महिमा ठूलो रहेछ, म आफ्ना अहंकारले नाशिन लागेकी रहिछु , तर अब म पनि यो व्रत अवश्य गर्नेछु ,” भन्ने निश्चय गरी चन्द्रावतीले अप्सराहरुसित सोधिन्—हे अप्सराहरु हो ! श्री स्वस्थानी परमेश्वरीको सम्पूर्ण व्रत विधि बताइदिए मेरो कल्याण हुने थियो ।” त्यसपछि अप्सराहरुले पनि व्रतका सम्पूर्ण विधि उपचार बताए अनि भने —“ हेर, यिनै परमेश्वरीको व्रतको प्रभावले तिम्रा समस्त पाप नाश होलान् , इच्छासिद्धी होला ” । यति उपदेश गरी नित्य स्नान र पूजामा आउने अप्सराहरु पहिलो दिनको पूजा सकी स्वर्गमा गए ।

चन्द्रावतीले पनि त्यसै वेलामा शालीनदीमा गएर स्नान गरिन् र अप्सराहरुका वचन अनुसार एकचित्त र एकभक्त रही, बालुवाको शिवलिङ्ग स्थापना गरी मानसिक उपचारद्वारा पूजा प्रारम्भ गरिन् । सधैं नै मध्यान्हकालमा श्री महादेवको पूजा र श्री स्वस्थानी परमेश्वरीको ध्यानले चन्द्रावतीका कुष्ठ रोग हट्दै गएर दिव्य देह हुन लाग्यो । जब माघशुक्ल पूर्णिमाको दिन आईपुग्यो, व्रत थालेको पनि एक महिना पूरा भएकोले सम्पूर्ण सामाग्रीका साथ अप्सराहरु पनि श्री स्वस्थानी परमेश्वरकिो पूजा उद्यापन शाङ्गेका निम्ति फेरि त्यहीँ शाली नदीका तीरमा आउँदा भए । तिनलाई चन्द्रावतीले देखी अप्सराहरुका छेउमा गई भन्न लागिन् —“ हे दयाका खानी अप्सराहरु हो ! तपाईहरुका उपदेश अनुसार मैले पनि पौषशुक्ल पूर्णिमाका दिनदेखि नित्य स्नान गरेर एक भक्त रही मध्यान्हकालमा श्री महादेवको मानसिक पूजा गर्ने गरें । आज एक महिना पूर्ण भयो, अब श्री स्वस्थानी परमेश्वरीको व्रत उद्यापन शाङ्गेका निम्ति मेरा साथमा कुनै पनि सामग्री छैन, मैले कसो गरे राम्रो होला, उपदेश पाउँ” ।

चन्द्रावतीका यी भक्ति र प्रेमले भरिएका वाणी सुनेर अप्सराहरुले भने —“हे पापिनी ! नदीबाट बालुवा ल्याऊ र त्यसैको सामग्री तयार पार र भक्तीपूर्वक हामीहरुका साथमा बसी पूजा गर ।” यी कुरा सुनी चन्द्रावतीले अप्सराहरुका उपदेश अनुसार बालुवा को सामग्री तयार पारिन् । श्री स्वस्थानी परमेश्वरीका कृपाले ती बालुवाका सम्पूर्ण सामग्री सिद्ध भए । यस्तो देखेर चन्द्रावतीले मनमा ठूलो आनन्द मानी “धन्य हौ श्री स्वस्थानी परमेश्वरी !” भनी मन–मनले ढोगिन् र अप्सराहरुलाई भए भरको वृत्तान्त सुनाइन् । यी कुरा सुनेका अप्सराहरुले चन्द्रावतीको देह पनि अति दिव्य भएको देख्न पाउँदा हर्षित हुँदै — “हे सुन्दरी ! हामीले तिमीलाई कतिपल्ट पापिनी भनेर बोलायौं, क्षमा गर । अबदेखि तिमीलाई हामी पुण्यवती भन्ने छौं । आऊ, अब हामीसँगमा बसी श्री स्वस्थानी परमेश्वरीको पूजा गरौं ” भनी चन्द्रावतीलाई पनि साथैमा राखी अप्सराहरुले पूजा गराए ।

पूजा गरिसकेपछि चन्द्रावतीले हातमा अध्र्यपात्र लिई प्रार्थनासंगै अध्र्य दिन लागिन् —“हे ईश्वरी ! हजुरका महिमालाई बुझ्न नसकी अघि मैले अहङ्कारपूर्वक हजूरको निन्दा गरेंछु , त्यो अपराधलाई क्षमा होस् । हे लोकेश्वरी ! सम्पूर्ण प्राणीका हृदयमा बसी पाप–पुण्यका साक्षी भएर रहनु भएकी हजुरमा कोटी–कोटी नमस्कार ! हे परमेश्वरी ! सृष्टिकर्ता ब्रम्हा, पालनकर्ता विष्णु र संहारकर्ता रुद्र, तीन मूर्तिले एकै मूर्तिमा रहनु भएकी परमात्मा स्वरुपिणी हजूरमा कोटी–कोटी नमस्कार ! हे भगवती ! पृथ्वी, जल, तेज, वायु र आकाशमा व्याप्त पञ्चतत्व, गुणादि तत्व, आदि मध्य रअन्त्य देवादिदेव यस्ती त्रैलाक्य मातामा कोटी–कोटी नमस्कार ! हे परमेश्वरी ! हजूरका महिमाको वर्णन गर्न हजार जिभ्रा भएका शेषनागले र चर्तुमुखी ब्रम्हाले पनि नसकेको म अनाथले कसरी सकुँली ? मैले जानी नजानी गरेका पूजाबाट सन्तुष्ट भई दु्ःखका भुँवरीबाट पार लगाई बक्सियोस् ” ।

यसरी अध्र्य सँगसँगै चन्द्रावतीले प्रार्थना पनि गर्नसकिन् । त्यसपछि अप्सराहरुले आफूले चढाउका प्रसाद झिकी —“हे पुण्यवती ! अब हामी जान्छौ” भनी चन्द्रावतीसित विदा भई स्वर्गमा गए । अप्सराहरु गएपछि चन्द्रावतीले पनि शाली नदीका तीरमा एउटा खरको सानो छाप्राभित्र श्री स्वस्थानी परमेश्वरीलाई हृदयमा राखी रातभरी जागा भै रहिन् । अर्का दिन उज्यालो भएपछि शाली नदीमा गएर स्नान गरिन् र ईश्वरीलाई चढाएका अष्टोत्तर शय मध्ये सबै थोक आठ–आठ वटा हातमा लिइन् र —“हे परमेश्वरी ! मेरा यहाँ कोही पनि छैनन्, मेरा स्वामी नवराजसित चाँडै भेट गराई दिइबक्सियोस् ”भनी दुवै हातले श्रद्धापूर्वक शाली नदीमा बगाई अरु प्रसाद चन्द्रावती आफैले ग्रहण गरिन् ।

हे अगस्त्य मुनि ! श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले चन्द्रावतीका समस्त विकार, पाप आदि नास भई अघिभन्दा पनि बढी दिव्य शरीर भयो र परम आनन्दमा प्राप्त भइन् र बारम्बार श्री स्वस्थानी परमेश्वरीलाई सम्झी प्रणाम गर्दी भइन् ।”


इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वरी व्रतकथायां
श्री स्वस्थानी व्रत वर्णनं नामं अष्टविंशोऽध्याय : ।। २८ ।।

श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Address


Butwal