Purbi command media
01/06/2026
नेपाल आदर्श र डि इस्टर्न एमपायर कलेजबीच सहकार्य, होटल म्यानेजमेन्ट अध्ययनका अब्बल डि इस्टर्न एमपायर कलेज
उर्लाबारी । होटल म्यानेजमेन्ट शिक्षामा कोशी प्रदेशकै अग्रणी मानिएको डि इस्टर्न एमपायर कलेज अफ होटल म्यानेजमेन्ट, उर्लाबारी–७ र नेपाल आदर्श अंग्रेजी माध्यमिक विद्यालयबीच शैक्षिक सहकार्य भएको छ ।
पत्रकार सम्मेलनमार्फत सो जानकारी गराइएको हो । सहकार्यअनुसार होटल म्यानेजमेन्ट अन्तर्गत कक्षा ११ र १२ को सैद्धान्तिक अध्ययन नेपाल आदर्श विद्यालयमा सञ्चालन हुनेछ भने प्रयोगात्मक तथा प्रयोगशाला सम्बन्धी कक्षाहरू डि इस्टर्न एमपायर कलेजमा हुनेछन् । कलेजका संस्थापक साजन श्रेष्ठले उर्लाबारीकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक नेपाल आदर्श विद्यालयसँग सहकार्य गर्न पाउँदा होटल म्यानेजमेन्ट शिक्षालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार विद्यार्थीलाई आधुनिक शिक्षा, व्यवहारिक ज्ञान र रोजगारमुखी सीप प्रदान गर्ने उद्देश्यले सहकार्य अघि बढाइएको हो ।
एसईईपछि होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीका लागि डि इस्टर्न एम्पायर कलेज उपयुक्त गन्तव्य बन्दै गएको छ । आठ वर्षअघि जम्मा तीन जना विद्यार्थीबाट सुरु भएको कलेजमा हाल २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । हालसम्म ८०० भन्दा बढी विद्यार्थीले यहाँबाट अध्ययन पूरा गरी नेपालसहित विश्वका विभिन्न मुलुकमा रोजगारी र व्यवसायमा सफलता हासिल गरिसकेका छन् ।
संस्थापक श्रेष्ठका अनुसार होटल तथा आतिथ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ कलेजले गुणस्तरीय शिक्षाका साथै व्यावसायिक सीप विकासमा विशेष ध्यान दिँदै आएको छ । ‘हामी प्रमाणपत्र दिने होइन, विद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने लक्ष्यका साथ अघि बढिरहेका छौँ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार विद्यार्थीलाई व्यवहारिक रूपमा अझ दक्ष बनाउने उद्देश्यले नियमित प्राक्टिकल कक्षाका अतिरिक्त बेकरी, बारिस्ता, बारटेन्डिङ, फ्लावर डेकोरेशन, प्राथमिक उपचार (फस्र्ट एड) तथा व्यक्तित्व विकास सम्बन्धी विशेष प्रशिक्षणसमेत सञ्चालन गरिँदै आएको छ । साथै विद्यार्थीको सहजताका लागि यातायात सेवाको व्यवस्था पनि गरिएको छ ।
होटल म्यानेजमेन्ट अध्ययनले विद्यार्थीलाई रचनात्मक, जिम्मेवार र आत्मविश्वासी बनाउन मद्दत गर्ने विश्वास कलेजको छ । यस विषयमार्फत विभिन्न देशका भाषा, संस्कृति तथा अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रबारे ज्ञान प्राप्त हुने, विदेश भ्रमणका अवसर मिल्ने तथा बहुआयामिक करियर निर्माण गर्न सकिने जनाइएको छ । होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीले होटल, रिसोर्ट, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, एयरलाइन्स, एयरपोर्ट, बैंक, बहुराष्ट्रिय कम्पनी, टुरिस्ट गाइड तथा बेकरी उद्योगलगायत विभिन्न क्षेत्रमा आकर्षक रोजगारी र करियर बनाउन सक्ने कलेजले जनाएको छ । स्वदेशदेखि विदेशसम्म दक्ष होटल म्यानेजमेन्ट जनशक्तिको माग बढ्दै गएकाले यस क्षेत्रमा भविष्य उज्ज्वल रहेको शैक्षिक निर्देशक सचिन लिम्बूले बताउनुभयो ।
30/05/2026
बोनम्यारो रोगसँग जुधिरहेका फुटबल खेलाडी सनम विकलाई ४७ हजार रुपैयाँ सहयोग
उर्लाबारी । मोरङको उर्लाबारी–३ मंगलबारेका फुटबल खेलाडी सनम विकको उपचार तथा जीवन रक्षाका लागि ४७ हजार १ सय रुपैयाँ आर्थिक सहयोग जुटाइएको छ ।
उर्लाबारीका युवा सामाजिक व्यक्तित्व ज्ञानु भट्टराईको अगुवाइमा विभिन्न व्यक्ति तथा संस्थाबाट रकम संकलन गरी सनम बचाउ अभियानका संयोजक सुशन लिम्बूलाई हस्तान्तरण गरिएको हो । सहयोग रकम संकलन अभियानमा आर्यन भट्टराई, इन्द्रमाया धिमाल, रविकुमार सुवेदी, सुवास खड्का, अशोक राई, हरि विश्वकर्मा, सुनपकुवा स्वालम्बी साकोस, किरण खड्कालगायतले आर्थिक सहयोग प्रदान गरेका छन् ।
बोनम्यारोसँग सम्बन्धित गम्भीर रोगबाट पीडित विकको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग अभियान सञ्चालन गरिएको छ । ज्ञानु भट्टराईले सनमको जीवन रक्षाका लागि सबैलाई सहयोगको हात बढाउन अपिल गर्नुभएको छ । स्थानीयस्तरमा सक्रिय फुटबल खेलाडीका रूपमा परिचित विक हाल उपचाररत रहेका छन् । उनको स्वास्थ्य लाभका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको अभियानका संयोजक लिम्बूले जानकारी दिएका छन् ।
30/05/2026
मोरङको पथरी शनिश्चरेमा कला साहित्य प्रवर्द्धन समिति, पथरी शनिश्चरेले स्वर्गीय दिपेन्द्रराज तिम्सिनालाई मरणोप्रान्त सम्मान गरेको छ।
शनिबार पथरी शनिश्चरेमा आयोजित सृजना विमर्श तथा स्रष्टा सम्मान कार्यक्रममा स्वर्गीय तिम्सिनाकी धर्मपत्नी लीला देवी निरौला 'दुर्गा'लाई एक भव्य कार्यक्रमका बीच सम्मानित गरिएको हो। उक्त अवसरमा उनलाई कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाे र वरिष्ठ साहित्यकार मनु मञ्जिलले दोसल्ला ओढाएर २५ हजार रुपैयाँ नगद सहित स्वर्गीय लेखक दिपेन्द्र राज तिम्सिनाको अर्धकध तस्वीर र सम्मान पत्रले सम्मानित गरिएको थियो। स्वर्गीय लेखक तिम्सिनाले नगर क्षेत्रलाई कर्म क्षेत्र बनाएर एक दर्जन बढी पुस्तक प्रकाशित गरी योगदान पुर्याएका थिए।