Balaram Timalsina
उडान !
*****
उडान मात्रै भनेर कहाँ हुन्छ ?
उडानका पनि प्रकार हुन्छन!
जति माथि मा....थि उडे पनि
जति फुर्तीफार्ती देखाए पनि
जति चङ्गा चेट गरे पनि
चङ्गाको आफ्नो उडान हुदैन
उडानको आफ्नो दिशा हुदैन
आफ्नो गति हुदैन
आफ्नो गन्तव्य हुदैन
किन कि चङ्गा भनेको चङ्गा हो
चङ्गा र चरा फरक फरक हुन ।
चङ्गा र चरा दुबै उड्छन
तर दुबैको उडान फरक छ
चरा आफ्नै तागतमा उड्छ
चरा आफ्नै इच्छामा उड्छ
चरा आफूले रोजेको उच्चाईमा
आफूले रोजेको दिशामा
आफूले ताकेको गन्तव्यमा उड्छ ।
तर चङ्गा ,
हावाको झोक्कासँगै
कहिले पूर्व र कहिले पश्चिम
कहिले उत्तर र कहिले दक्षिण
अरुकै बहकावमा उड्छ ।
तर चङ्गा
अरुकै हातमा भएको लट्टाई
र अरुले नै छोड्ने र तान्ने गरेको आधारमा
अरुकै लागि उड्छ
अरुकै खुसीमा उड्छ
र उड्दा उड्दै अनन्त उच्चाईमा
हुरी चल्यो भने अकस्मात
या पानी दर्क्यो भने अकस्मात
दिशा विहीन बन्छ
र फ्यात्त भूइँमा खस्छ ।
चरा र चङ्गा
दुवै आकासमा उड्छन्
तर एउटा आफ्नै तागतमा उड्छ
अनि अर्को अरुको खटनमा उड्छ ।
हाम्रो जुनी पनि
कसैको चङ्गाको जस्तो हुने गर्छ
र कसैको चराको जस्तो हुने गर्छ ।
म सोचिरहेको छु-
मेरो उडान चराको होला कि चङ्गाको ?
साथी !
सायद तपाई पनि सोच्न थाल्नु भयो होला ?
****
२०८२ कार्तिक २५
सिनामंगल
हामी क्या मिलेर बसेका छौं !
*******
क्या सद्भाव छ
क्या शान्ति छ
हामी क्या मिलेर बसेका छौं !
सबैभन्दा सिरानमा बाहुन छौं
शास्त्रले नै शिरानमा बस्नु भनेको छ
शास्त्रले भनेको मान्नै पर्यो
शास्त्र भनेको शास्त्र हो
संबिधान नाथे के हो र
कानून नाथे के हो र
यी सब मानिसले लेखेका हुन !
हामीभन्दा मुनि क्षेत्रीलाई राखेका छौं
राजकाजको काम गर्नु है भनेका छौं
हामी बाहुनहरू विधी बनाउँछौं
कतै विवाद आयो भने
हामी त्यसको व्याख्या गरिदिन्छौं
अरूले व्याख्या गरेर हुदैन
शास्त्र लेख्ने समयमै
हामीले त्यसै गरी लेखेका छौं
हामीले मात्र बुझ्ने गरी लेखेका छौं
क्षेत्रीहरू लागू गराउँछन्
कसै कसैले मानेनन भने
क्षेत्रीहरूले तरवार चलाउछन
त्यतिले पनि मानेनन भने
हामी नरकको डर देखाउँछौं
र सबैलाई मिलाएर राख्छौं ।
क्षेत्रीभन्दा मुनि वैश्यहरूलाई राखेका छौं
उनीहरूलाई
खेतीपाती गरेर खाऊ
व्यापार गरेर खाऊ
क्षेत्रीहरूलाई कर तिर
हामी बाहुनहरूलाई दान दक्षिणा गर भनेका छौं
अलि अलि कर छल्न खोज्छन
अख्तियार लगाइदिन्छौं
अलि अलि दान दक्षिणामा लोभ गर्छन
गरुड पुराण सुनाइदिन्छौं
ती पनि मिलेरै बसेका छन ।
पुछारमा थियो अलिकति ठाउँ
हाम्रै सेवा गर्दै आएका
हामीले जितेर ल्याएकाहरू थिए केही
मृत्यु दण्ड रोज्ने कि पुछारमा बस्ने भनेर सोध्यौं
एक थरी मारिए
एक थरी मिलेर पुछारमा बस्न राजी भए
जूठो पुरो खान्छन
सेवा चाकरी गर्छन
हेर्दा मानिसजस्तै देखिन्छन
तर मानिस बन्न दिएका छैनौं
तै पनि मिलेर बसेका छन ।
यति धेरै जात छन
कति गाह्रो हुन्छ मिलाएर राख्न
कति गाह्रो हुन्छ चित्त बुझाउन
तै पनि हामीले सकेका छन
क्या गजबले मिलाएर राखेका छौं।
बस्ने ठाउँ नै यसै गरी बनाइएको थियो
तेर्सो बस्न नमिल्ने
ठाडो बस्नु पर्ने
ठाडो बसेपछि
कोही सिरान कोही पुछार हुने नै भयो
जस्को हातमा कागज र कलम छ
ऊ पुछारमा बस्ने कुरा भएन
जसको हातमा तरवार छ
उसलाई पुछारमा राख्नै सकिन्नथ्यो
जसले कर तिर्छ दान गर्छ
उसलाई पनि ख्याल पुर्याउनै पर्यो
ती सबै कुरा सोची बिचारी गरियो ।
कम्ता दिमाग खियाउनु परेको थिएन
शास्त्रमा यस्तो कुरा राख्न
कम्ता अप्ठेरो परेको थिएन
पुर्खालाई यो थिती चलाउन
धन्न क्षेत्रीको तरवारले साथ दियो
धन्न वैश्यको दौलतले काम दियो
र यस्तो गजबको चलन चलाउन संभव भयो ।
सबै खुसी छन
सबै सुखी छन
अलि अलि असन्तोष
अलि अलि आक्रोश
शूद्रहरूमा छ
त्यसलाई पनि तह लगाइन्छ
यत्रो शास्त्र छन
यत्रो जेल नेल र बन्दुक छन
यति लामो आदत र संस्कार छ
अलि अलि असन्तोष
र अलि अलि आक्रोशले केही बिगार्दैन ।
क्या भाइचारा छ
क्या हार्दिकता छ
हामी क्या मिलेर बसेका छौं ।
२०८० भाद्र ३०
सिनामंगल
Click here to claim your Sponsored Listing.